बच्चाको स्मरण क्षमतामा वातावरणको कुनै भूमिका हुन्छ ? यस सम्बन्धमा एक खोज–अध्ययन गरिएको छ । अतः त्यसको निचोडले भन्छ, ‘हरियाली वातावरणले बालबच्चाको स्मरण क्षमता बढाउँछ ।’ ‘ब्रिटिश जर्नल अफ एजुकेशन साइकोलोजी’मा प्रकाशित उक्त शोधपत्रमा हरियालीको एकाग्रतासँग गहिरो सम्बन्ध हुने कुरा बताइएको छ । यस्तो हरियालीयुक्त स्थानले बच्चाको ध्यान भंग हुनबाट रोक्ने र उनीहरुको अध्ययन उपयोगी हुने शोधपत्रमा उल्लेख छ । शोधकार्यमा संलग्न युनिभर्सिटी कलेज लण्डनकी एरिनी फ्लोरीले भनेकी छिन्, ‘हाम्रो अध्ययन केवल बच्चाहरुको प्रभावकारी विकासको लागि मात्रै होइन, राम्रा शहरी योजनाहरु तयार गर्नको लागि पनि प्रयोग गर्न सकिन्छ ।’ ‘शहरमा रुख–विरुवाको आवश्यकता हावालाई सफा र स्वच्छ राख्न मात्रै होइन, बच्चाको शिक्षाको स्तरलाई प्रभावकारी बनाउनको लागि पनि पर्छ भन्ने कुरा अध्ययनबाट थाहा भयो’ फ्लोरीले भनेकी छिन्, ‘यसैले हामीले आफ्नो वरिपरिको क्षेत्रलाई हराभरा बनाउन आवश्यक छ ।’ हराभरा रुख र विरुवाले हामीलाई अत्यावश्यक अक्सिजनमात्रै दिँदैन । यसले वरिपरिको वातावरणलाई स्वच्छ, सुन्दर बनाउँछ र मानिसहरुलाई स्वस्थ बनाउँछ । ...